५ जेठ, काठमाडौं । नेपाल र चीन दुबै देशले उच्चस्तरीय भ्रमण आदान-प्रदानको तयारी गरेका छन् । अन्तरराष्ट्रिय बौद्ध सम्मेलनमा लुम्बिनी आउने निम्तो पाएका चिनियाँ राष्ट्रपति सि जिनपिन् आगामी अक्टोबरमा काठमाडौं आउ सक्ने बताइएको छ ।
लुम्बिनी र काठमाडौंमा आयोजित वौद्ध सम्मेलनमा चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेतलाई नेपालले निम्तो पठाएको थियो । तर, दुबै देशका सरकार प्रमुखहरु सम्मेलनमा भाग लिन आएनन् ।
चिनियाँ राष्ट्रपति सि आगामी अक्टोबरमा दुई दिनका लागि भारतको गोवा जाँदैछन् । उनी गोवा जाने क्रममा छोटो समयका लागि काठमाडौं उत्रिन सक्ने स्रोतले बतायो । परराष्ट्र मन्त्रालय स्रोतले भन्यो- ‘चिनियाँ राष्ट्रपतिले गोवा भ्रमणका बेला नेपालको भ्रमण गर्ने गरी समय मिलाउने गृहकार्य भइरहेको छ ।’
आगामी अक्टोबर १५ र १६ मा भारतको गोवामा ब्रिक्सको आठौं शिखर सम्मलेनमा भाग लिन चिनियाँ राष्ट्रपति त्यहाँ जान लागेका हुन् । भारतले अध्यक्षता गर्ने सो शिखर सम्मेलनमा ब्रिक्समा आवद्ध ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफि्रकाका सरकार प्रमुखहरु सहभागी हुनेछन् ।
चिनियाँ नीतिअन्तरगत उच्चस्तरीय भ्रमणबारे पूर्वप्रचार गर्नु राम्रो मानिँदैन । त्यसैले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे स्रोतले खुलेर बताउन चाहेन । नेपालको परराष्ट्र मन्त्रालयका एक अधिकारीले एक संचारमाध्यमलाई भने-‘प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला दुबै देशबाट उच्चस्तरीय भ्रमण गर्ने समझदारी भएको थियो, त्यसै अनुसार बि्रक्सको शिखर सम्मेलनका बेला चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्नेबारे छलफल भइरहेको छ ।’

No comments:
Post a Comment