Thursday, May 12, 2016

सिर्जनामा देश खोज्छु-नबराज लम्साल

नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष हुन्, नवराज लम्साल, ४६ । 

कर्ण महाकाव्यलगायत आधा दर्जन कृतिका स्रष्टा 
लम्साल सञ्चारकर्ममा समेत सक्रिय छन् ।


नेपाली लेखक संघको नेतृत्व पाउँदा कस्तो लागेको छ ?
लामो समयदेखि म लेखिरहेको छु, लेख्नेहरूकै बीचमा छु । साहित्य र साहित्यकारको स्थिति मलाई थाहा छ । पुरानो संस्थाको नयाँ अध्यक्ष हुन पाएकामा खुसी लागेको छ ।

नेपाली लेखक संघ कस्तो खालको संस्था हो ?
लोकतन्त्र, लोकतान्त्रिक लेखन, बहुलता र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा लाग्ने संस्था भनेकै नेपाली लेखक संघ हो ।

यसलाई त नेपाली कांग्रेस निकट भन्छन् नि ?
नेपाली कांग्रेसले लेखन स्वतन्त्रताको वकालत गर्छ । यस अर्थमा हामी कांग्रेस निकट छौँ । तर, हामी कांग्रेसका कुरा लेख्दैनौँ । हामीले लेखेका कुरा कांग्रेसले मन पराउन भने सक्छ ।


वामपन्थी लेखकहरूको संस्था प्रगतिशील लेखक संघसँग तपाईंहरूको कस्तो सम्बन्ध छ ?
प्रगतिशील लेखक संघमा नेपाली लेखक संघ अट्छ कि अट्दैन, मलाई थाहा छैन । तर, प्रगतिशील लेखक संघमा आबद्ध स्रष्टाहरू नेपाली लेखक संघसँगै हिँड्न सक्छन् । हामी सम्पूर्ण निषेध र नियन्त्रणभन्दा माथि छौँ ।

नेपाली लेखक संघ सम्पूर्ण लेखकहरूको छाता बन्न सक्छ ?
देवकोटा, लेखनाथ, सिद्धिचरण, भीमनिधि तिवारीहरूले ००८ सालमा खोलेको यो संस्था कुनै कित्ताको थिएन । यसको विशेषता भनेकै कुनै निश्चित विचारको कोट नलगाउनु हो ।

लेखकीय स्वतन्त्रताको जति वकालत गरे पनि तपाईंहरूले घुमाइफिराइ कांग्रेसको जामा लगाउनुभएकै छ त ?
विचारको बहुलतालाई कांग्रेसले स्वीकार गर्छ भने हामीले कांग्रेसलाई तिरस्कार गर्नुपर्ने कुनै कारण छैन । हामी कांग्रेसको पछि लागेका होइनौँ कि कांग्रेस हाम्रो साथमा छ ।

साहित्यिक संस्थाहरू कवि गोष्ठी र विमोचनभन्दा माथि उठ्न सकेका छैनन् नि ?
हो, साहित्यमा समकालीनता लगायतका बहस कमजोर छन् । विभिन्न सरोकार र चिन्तालाई अब चिन्तनमा बदल्नु जरुरी छ ।

लेखक संघलाई कसरी अघि बढाउनु हुन्छ ?
पहिलो त म यसलाई झोलाबाट कार्यालयमा सार्छु । दोस्रो, लेखकीय स्वतन्त्रताको बहस चलाउँछु । तेस्रो, सिर्जनामा देश खोज्न प्रेरित गर्छु ।
प्रकाशित: वैशाख २७, २०७३
साभार: नेपाल साप्ताहिक 

No comments:

Post a Comment