Saturday, July 16, 2016

'साथमा बुढो नहुँदा रात लामो' बजारमा हिट

'उत्साहित छु'- गायक बस्नेत दोहा,कतार/
तीज पर्व नजिकिँदै जाँदा बजारमा नयाँनयाँ तीज गीतहरु आईरहेका छन् । यसैक्रममा कतारको दोहामा कार्यरत राज कुमार बस्नेतले "साथमा बुढो नहुँदा रात लामो" नामक तीज गीत एल्बम बजारमा ल्याएका छन् । चर्चित गायिका बिनु तामाङ्को साथमा राजकुमार बस्नेतले गाएको एल्बमको शिर्ष गीत युट्युबमा राखिएको केही दिनमै करिब एक लाखले हेरिसकेका छन् । गीतमा शब्द रबिन्द्र कसम लोहनीको र संगीत चन्द्रमान तामाङको रहेको छ । गीतको म्युजिक भिडियोमा रन्जीता गुरुङ् र ओबीले अभिनय गरेका छन् । सानै देखि गीत संगीत मा रुचि भएका बस्नेत अरब मुलुकमा कार्यरत हुँदा पनि नेपाली गीत संगीतलाई माया मार्न नसकेकको बताउँछन् । पहिलो गीतमै असाध्यै मेहेनत गरेको र आफ्नो मेहनतलाई स्रोता दर्शकले मन पराईदिएकाले थप हौसला मिलेको छ-गायक बस्नेतले भने । पति बिदेश र पत्नी घरमा हुँदा एक अर्काले भोग्ने मानसिक पीडालाई गीतमा उतारिएको र लय, संगीत र म्युजिक भिडियो पनि उत्कृष्ट बनेकाले राजकुमार बस्नेतको पहिलो एल्बमले उनलाई बजारमा चिनाउनेमा दुईमत छैन ।
आबाज - राज कुमार बस्नेत, बिनु तामाङ् शब्द - रबिन्द्र कसम लोहोनी लय, थेगो - चन्द्रमान तामाङ अभिनय- रन्जिता, ओबि गीतको बोल - साथमा बढो नहुदा रात लामो कम्पनी- म्युजिक नेपाल https://youtu.be/1g1sHiblLgc

Saturday, July 9, 2016

प्रेमका बाच्छिटा

कथा/अजित क्षेत्री
अफिस सकिनासाथ आज पनि उही चिया पसलमा पुगिसकेको थिएँ । पसलकी साहुनी चिया पकाउँदै रहिछन् । केही दिनयता अफिसपछि घर फर्कने बेला यही पसलमा चिया र समोसा खाने दैनिकी नै बनेको छ । रङ कडा र बाक्लो दूधको चिया गिलासभरि पाइने भएकैले म यही पसलमा आउने गर्छु । अफिस नजिकैका चिया पसलेहरु नजिकको तीर्थ हेला गर्‍यो भनेर मुख खुम्च्याउँछन् । कसैले केटीले पकाएको चिया खान गएको भन्छन् । कसैले चिया खाने निहुँले त्यही केटीलाई जिस्काउन गएको ठान्छन् । तर म चियाको स्वादमै पल्केर यहाँ आउँछु । करिब आठ/दस फुट चौडा सटरमा खोलिएको छ चिया पसल । पसलमा दुईवटा टेबल, आठ/दस कुर्सी र एउटा बेन्च छ । छेउमै समोसा, पकौडा र बिस्कुटले भरिएको सानो सोकेस छ । सोकेसको छेउमा छ ग्यास चुल्हो । भित्तामा एउटा क्यालेन्डर, स्वर्गीय राजा वीरेन्द्रको परिवारको फोटो, साप्ताहिक पत्रिकाको केही ब्लोअप र त्यसको सामुन्ने एउटा ऐना । यही हो यो पसलको चिनारी । पसल एक युवतीले चलाएकी छिन् । अन्दाजी पच्चीस वर्षकी अग्लो कदकी युवतीको मुहार हल्का कालो वर्णको छ । मुस्काउँदै बोल्ने उसको सम्बोधनमा आदर झल्किन्छ । काममा फूर्तिली र हातको स्वाद मीठो । पसलमा पुग्नासाथ भित्ताको ऐनामा दिनभरिको कामले च्याउसिएको आफ्नो अनुहार एक खेप हेर्नु र गाला छेउछाउ फस्टाएका डन्डिफोर निचोर्नु मेरो बानी नै बनिसक्यो । ऐनामा एक झलक हेरिसकेर बसेको के थिएँ चिया आइपुग्यो टेबुलमा । “समोसा पनि ल्याऊँ सर ?” उसले भनी । “उम्” मैले टाउको हल्लाएँ । प्लेटमा समोसा पनि आयो । “आज त खूब च्वाँक देखिएकी छ्यौ नि !”- मैले जिस्काउने सुर कसेँ । “अँ होला खुब ! सर पनि जे पायो त्यै बोल्दिनु हुन्छ ।” उसको प्रतिक्
रिया थियो । “हो भन्या, कस्सम । आज झनै राम्री देखिएकी छ्यौ ।” मैले थपेँ । “राम्रो-नराम्रो त मान्छेको हेराइ हो सर । राम्रो त मन हुनुपर्छ मन ।” उसले भारी शब्दमा बोली । “तिमी मान्छे’नि राम्री । तिम्रो मन झनै सुन्दर, आकाशको रंगीन चंगाजस्तै ।” फुर्क्याउने पाराले भनेँ । तर, ऊ फुर्किइन । ‘आकाशको चङ्गा जतिसुकै राम्रो भए पनि कि त कसैको मुठीमा आउने हो, कि त धागो चुँडिएर कतै पछारिने हो । तपाईँ पनि मलाई पछार्दै हुनुहुन्छ सर ।’ उसले सहजै भनी । लाग्यो- उसले मलाई तीखो प्रहार गरी । रक्षात्मक हुँदै मैले भनेँ – ‘तिमी त राजकुमारले विशाल दरबारमा उडाउने चङ्गा जस्ती छ्यौ । चुँडिएर खसे’नि दरबारमै खस्छ्यौ ।’ मेरो कुरामा उसले कुनै प्रतिक्रिया जनाइन । सायद जरुरी पनि ठानिँन । ऊ सँग मैले यति धेरै सवालजवाफ गरेको यो पहिलो चोटि थियो । उसले यति खुलेको पनि यो पहिलो पटक । खासमा कुनै पनि ग्राहकसँग धेरै बोल्दिन ऊ । रिसाउँदिन पनि । ऊ अर्थात् यो चिया पसलकी साहुनी । नाम अझैसम्म थाहा थिएन । कसैसँग नजर नजुधाई काममै घोरिन्छे हरदम । नजर नजुधाउने मानिस कसैसँग सजिलै प्रेममा फस्दैन भन्छन् । मलाई लाग्छ ऊ आजसम्म प्रेमको मीठो फल नखाएकी यौवनकी कलि हो । धत् ! मैले त के के सोच्न भ्याइसकेछु । साँच्ची, युवतीहरु पनि हामी युवकको बारेमा यस्तै सोच्दा हुन् त ? सोचेँ – युवतीहरु प्रेम र यौन अनि घरजमको बारेमा सोच्नुभन्दा युवकको सुगठित शरीर र उसको आम्दानीका बारेमा सोच्छन् होला । मेरा एक मित्र भन्ने गर्थे – ‘पुरुषको एक चौथाइ जिन्दगी युवतीको बारेमा सोचेर बित्छ । युवतीको आधा जिन्दगी मेकअप गरेर र ठूलो घरकी मालिक्नी हुने सपना देखेरै बित्छ ।’ सोचेँ – ठीकै भन्थ्यो उसले । “साहुनी सुन त !” बोलाएँ ।
“प्लीज सर मलाई साहुनी नभन्नुस् न ।” उसले आग्रह र निर्देशन मिसिएको स्वरमा भनी । “पसल चलाउछ्यौ, साहुनी नभनेर के भनूँ त ?” “जुठो भाँडा उठाएर एक-एक पैसा बटुल्ने मान्छे के को साहुनी नि ?” उसको प्रतिप्रश्न आयो । “त्यसो भए के भनूँ त ?” म अलमलिएँ । “बैनी भन्नुस् ।” उसले सहजै भनी । ऊ सहज हुन खोजी । मलाई भने असहज भयो । ऊ एकातिर दूरी मेटाउँदै थिई । तर, अर्कातिर सीमाना पनि कोर्दै थिई । “नाइँ । बैनी त भन्दिनँ ।” मैले थपेँ – “यस्तो सजाय मलाई नदेऊ । यो त बाघलाई दाह्रा र नङ्ग्रा भाँचेर बाख्राको खोरमा छोडे जस्तै भयो ।” “पापी !”- उसले धारे हात लगाएजस्तो गरी मायालु पारामा भनी । पापी शब्द सुन्नासाथै यस्तो लाग्यो, मानौं मलाई यमराजको अघिल्तिर उभ्याइएको छ र मैले गरेका पापहरुको लामो सूची वाचन गरिँदै छ । “म त धर्मको खोजीमा निस्केको मान्छे, तिमीले त पापी पनि घोषित गरिदियौ है ?,” बैनी बन्न तम्सिने साहुनीलाई मैले दङ्ग्याएँ । आज अलि बढी गफिएको थिएँ । किन-किन गफमा मजा आइरहेको थियो । गफको मिठासमा चियाको स्वाद फिका थियो । एकछिनको मौनता तोडेर मैले नै कुराको सिलसिला बढाएँ – ‘ए साँच्चि, तिम्रो नाम के हो नि ?’ ”पापी नै त निस्कन्छन् धर्मको खोजीमा,” दार्शनिक शैलीमा उसले भनी- ”धर्म कमाउन त तीर्थ यात्रा र मन्दिर धाउनु नि सर, यता चिया पसलतिर होइन ।” ”जहाँ पवित्रता हुन्छ त्यही हो तीर्थ, जहाँ विश्वास हुन्छ त्यही हो मन्दिर, अनि जहाँ सेवा त्यही ईश्वर,” मैले पनि जाने जति एकै सासमा भन्दिएँ । “तर सर बाटोको ढुंगालाई फूल चढाउँदैमा त्यो ईश्वर बन्छ र ?” उसले प्रश्न तेर्स्याई । “ईश्वर त विश्वास गरेपछि हुने कुरा न हो । विश्वास गरेपछि अमूर्त कुरा पनि मूर्त बन्छ । ज्ञानीहरुले मात्र देख्न सक्छन् ईश्वरलाई ।” मैले भनेँ । “त्यसो भए तपाईं ज्ञानी हो ?” ”होइन, ज्ञान प्राप्त गर्न ध्यान चाहिन्छ । म ध्यान गर्न सक्दिनँ ।” मैले भनेँ । ऊ केही बोलिन । पसलमा चिया पिउन आएका ग्राहकहरु गइसकेका थिए । मैले पनि चिया सकिसकेको थिएँ । पैसा बुझाएँ । आज अलि बढी गफिएको थिएँ । किन-किन गफमा मजा आइरहेको थियो । गफको मिठासमा चियाको स्वाद फिका थियो । एकछिनको मौनता तोडेर मैले नै कुराको सिलसिला बढाएँ – ‘ए साँच्चि, तिम्रो नाम के हो नि ?’ हुन पनि यतिका दिनसम्म मैले उसको नाम सोधेको थिइनँ । “के राखेको छ र नाममा ? नाम बिना पनि तपाईंले मलाई चिनिराख्नुभएकै छ क्यारे ।” झटारोले लाग्ने गरी हिर्काई उसले । आज उसले जित्दै गइरहेकी थिई । म हार्दै थिएँ । तर यस्तो लाग्दै थियो – हारे पनि रेफ्रीले मलाई नै विजयी घोषणा गरिरहेको छ । “नाम व्यक्तिको परिचय हो । व्यक्तिको अनुपस्थितिमा पनि नामले उसको भूमिका निर्वाह गर्छ ।” मैले उसलाई पढाउन खोजेँ । “त्यसो भए नाम बिना मान्छेको परिचय नै हुँदैन त ? जे नाम भए पनि म मैँ हुँ, नामको शृंगारले मान्छेको बाहिरी परिचयमा त केही भिन्नता देखिएला तर मैले जिउने जिन्दगी र मेरा सपनामा मलाई साथ दिन्छन् जस्तो लाग्दैन सर ।” उल्टै उसैले पो मेरो क्लास लिने छाँट देखाई । उसको दार्शनिक जवाफले म अवाक् भएँ । मैले भनेँ- ‘दर्शन सिक्न त कोही तिमीसँग आओस् ।’ “सर तारिफ धेरै भयो अब जानुस् ढिला भयो,” उसले सम्झाई । नाम नभनी यसै टारी । घडी हेरेँ, साँझको सात बजिसकेछ । हल्का अँध्यारो हुँदैथ्यो । सरासर घरतिर लागेँ । OOOO दिनहरु यसैगरी अगाडि बढ्दै गए । अफिस लागेका बेला दिनमा एकपटक उसको पसल पुग्ने रुटिन छँदै थियो । आदत नै बनिसकेको थियो – यो पसल, यहाँको एक कप चिया र उसको मुस्कान । आज-भोलि आफू कताकता हराउँदै गएको थिएँ । अफिस र चोकतिर मेरो बारेमा गाइँगुइँ चल्न थालेको थियो । तर, कसैले सामुन्नेमा मुखै चाहिँ फोरेका थिएनन् । खासमा साहुनीसँग मेरो कुनै खास सम्बन्ध भने थिएन । म उसका लागि अरु ग्राहक सरह नै थिएँ । तर, मेरा लागि ऊ खास बन्दै गएकी थिई। खास कुन अर्थमा भने उसको पसल मेरा लागि सुस्ताउने चौतारी बनेको थियो । चञ्चले उमेरमा ठिटा-ठिटीहरु यस्तो भएन, त्यस्तो चाहियो भन्दै बाबुआमालाई दङ्ग्याउँछन् । ऊ भने आफ्नो उमेरभन्दा गह्रुंगो जिम्मेवारी बोकिरहेकी थिई । मैले एकदिन कारण सोधेँ । बुबा प्यारालाइसिसका कारण बितेको र वृद्ध आमाको काँधमा घरको जिम्मेवारी आएकाले परिवारलाई सघाउन पसल चलाएको उसले बताएकी थिई । अर्को दिन समयमै अफिस पुगेँ । अघिल्लो दिनको केही काम बाँकी थियो- सकेँ । अफिसमा अडिट सुरु हुने लागेको थियो । त्यसैको तयारीस्वरुप भोलि बिहानै म र अर्का एक कर्मचारी करिब दुई साताको लागि सुर्खेतको वीरेन्द्रनगर जानुपर्ने भयो । अफिसमा बसेर जाने तयारी गर्दै गर्दा मनमा हुटहुटी भइरहेको थियो । एक मन पहिल्यै वीरेन्द्रनगर पुगिसकेको थियो भने अर्को मन यतै कतै अल्झिरहेको थियो । काम सकेर अफिसबाट निस्कँदा साँझको ६ बज्नै लागेको थियो । सरासर उही चिया पसलमा गएँ । भित्तामा झुन्डिएको ऐनामा आफ्नो अनुहारको एक्स रे गरेँ । छेउको कुर्सीमा बसेँ । उही परिचित शैलीमा उसले चिया र समोसा टेबलमा राखिदिई । किन-किन आज मैले चिया एक चुस्कीभन्दा बढ्ता पिउनै सकिनँ । उसलाई मात्र एकोहोरो हेरिरहूँ लागेको थियो । भर्खर नुहाएर निस्केकी कुमारी युवतीको शरीरबाट बास्ना निस्के झैं उसको शरीरको बास्नाले लठ्याए झैं भयो । उसलाई छाडेर केही दिन वीरेन्द्रनगरको अपरिचित भिडमा जाँदै थिएँ भोलि । यो पनि पीडा जस्तै भएको थियो । ऊ मेरो सामुन्नेको टेबलमा रायोको साग केलाउँदै थिई । “भोलि म सुर्खेत जाँदैछु नि ।”- काममा एकोहोरिएकी ऊ मेरो यो अप्रत्यासित कुराले झस्के जस्ती भई । “आबुई हो र ! कति कामले नि ? कि उतै बस्ने हो र अब सर ?” उस्सुकता र विस्मयका साथ उसले एकैपटकमा थुप्रै प्रश्न सोधी । “करिब १५ दिनका लागि ।” मैले यसो भने पनि उनको अनुहारमा कुनै परिवर्तन देखिएन । लाग्यो- मेरो जवाफबाट सन्तुष्ट भइन ऊ । आफ्नो जवाफबाट म आफैं पनि सन्तुष्ट हुन सकेको थिइनँ । झ्वाट्ट मुखमा आयो – “तर १५ दिन मेरा लागि १५ वर्ष जत्तिकै लामा हुनेछन् ।” “किन नि त्यस्तो, सर ?” “मन यतै छुटेपछि त्यहाँ कसरी रमाउन सकिन्छ र ?” मैले जवाफ दिएँ । “महासय, मन किन यतै छोडि जाने नि ? आफ्नो मन आफैसँग लैजाने गर्नुहोला, नत्र चोरी हुन के बेर !” मलाई हाकाहाकी जिस्क्याई । ‘महासय’ ! उसले पहिलो पटक यो शब्दले सम्बोधन गरी । मन चोरिन सक्छ भनेर उसले ठीक भनेकी थिई । पछिल्लो समय मन विस्तारै चोरिँदै गएको महसुस गर्दै थिएँ । र म चोरलाई चुपचाप मनको तालाचाबी सुम्पिँदै थिएँ । “मन त चोरी भइसक्यो ।” मैले भनेँ । “त्यसो भए उजुरी दिनुस् न मन चोरी भो भनेर ।” “कहाँ दिऊँ उजुरी ? उनै चोर छन्, उनै सिपाही भएका छन्” मैले संकेत गरेँ । “मन चोरी भएको के प्रमाण छ तपाईंसँग ?” उसको यो प्रश्नले म आफूलाई अदालतको कठघरामा उभिएको कैदी जस्तै महसुस गरें । यस्तो लाग्यो – जसको विरुद्ध उजुरी दिएको छु, उही मेरो उजुरी उपर सुनुवाइ गर्दै छ । “तिमी केरकार विभागको प्रहरी अधिकृत कि अदालतको न्यायाधीश हँ ?” सोधेँ । “तपाईँ जे सम्झनुस्,” उसले भनी- “तपाईंको हराएको मन भेटाउन सहयोग गर्न चाहने एउटा शुभचिन्तक मात्र हुँ म ।” “उसो भए सुन,” मैले भनेँ- “मान्छेले आफैंलाई बिर्सनु, बिना पानी तैरिन खोज्नु र बिना हुरी मन टाढा-टाढासम्म पुग्नु मन चोरिएको लक्षण होइन त ?” “कुन दिन सर पनि चोरिनु भयो रे भन्ने समाचार आउन बेर छैन ।”- हाँस्दै उसले थपी । “आओस् छिटै त्यो दिन ।” हामी दुवै गलल्ल हाँस्यौं । घडी हेरें समय त घर्किसकेछ । पसलबाट निस्केर घरतर्फ पाइला बढाएँ । हिड्नै लाग्दा उसले भनी – “शुभयात्रा सर । चाँडै फर्कनुहोला ।” हिँड्नै लाग्दा मैले आज फेरि उसको नाम सोधेँ । उसले यो पालि कुनै तर्क-वितर्क नगरी भनी सहज उत्तर दिई – “माया” । “माया” यो शब्द ननिदाउन्जेल कानमा गुञ्जिरह्यो । भोलिपल्ट बिहानै म अफिसको साथीसहित वीरेन्द्रनगरतर्फ लागेँ । OOO वीरेन्द्रनगर आएको चौथो दिनमै दुई अपरिचित अनुहार हाम्रो अफिसमा छिरे र अभिवादन कमरेड भन्दै जोडले हात मिलाए । दुईमध्ये एक रक्षात्मक हिसाबले ढोकानेरै उभियो र अर्को हामीसँग गफिन थाल्यो । निकै मृदुभाषी यी युवक माओवादी जनयुद्धमा लागेका र भर्खरै यो बजारक्षेत्रको पार्टी इन्चार्ज भएर आएका रैछन् । असली नाम दीपक सुनाम । पार्टीले दिएको नाम कमरेड उमंग । केही आर्थिक सहयोग गर्नुपर्ने उनको माग थियो । हेड अफिससँग सल्लाह गर्नेछौं भनेर हामी उम्कियौं । उनीहरू त्यहाँबाट निस्केको दुई घण्टापछि पुलिसको एउटा भ्यान आएर हाम्रो कार्यालय अगाडि रोकियो । तत्काल हाम्रो कार्यालयलाई चारै तर्फबाट घेरा हाले । केही प्रहरी जवान कार्यालयका कागजात खानतलासी गर्न लागे । अफिसमा भएका हामी चारै जनालाई भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगे । त्यस दिन माओवादी कार्यकर्ताहरू हाम्रो कार्यालयमा आएको सुराकी कसैले प्रहरीलाई दिएको रहेछ । बिना कारण प्रहरी हिरासतमा १५ दिन जति राखियो हामीलाई । प्रहरी खोरमा बस्नुको पीडा र त्यहाँ भएको अपमानले हीनताबोध भयो । राज्यप्रति वितृष्णा पैदा भयो । माओवादीमा कतै पनि हाम्रो संलग्नता नपाइएको र हेड अफिसले मानव अधिकारकर्मी मार्फत दिएको दबाबका कारण १६औं दिनमा प्रहरी हिरासतबाट मुक्त भइयो । मुक्त भएपछि सीधै कोठामा पुगेँ । सहकर्मीहरु कोठामै भेट्न आए । भोलिपल्ट पनि कोठामै सुतेँ । अफिस जानै मन लागेन । अर्को दिनदेखि नियमित अफिस जान थालेँ । केही दिनअघि भएको अप्रत्यासित घटनाले मन विचलित भइरह्यो । एक दिन अचानक साँझपख तिनै माओवादीहरु बाटोमा भेट भए । प्रहरीले म र अन्य सहकर्मीलाई पक्राउ गरेर यातना दिएकोमा कमरेड उमंगले गहिरो दुःख व्यक्त गरे । सामन्ती राज्यसत्ताको विभेद र दमनविरुद्ध संघर्षमा उत्रन उनीहरुले मलाई आग्रह गरे । मैले उपयुक्त समयमा यसबारेमा सोच्न सकिने बताएँ । उनीहरुले मार्क्सवाद र माओवादी दर्शनका केही किताब मेरो हातमा थमाउँदै तिनको अध्ययन गरेर छिटै पार्टीको पूर्णकालीन कार्यकर्ता बन्न आउन आग्रह गरे । सबैभन्दा बढी त उही चिया पसलको याद आयो अनि मायाको । वीरेन्द्रनगरका कुनै पनि चिया पसलले मलाई मायाको झल्को मेटाउन सकेनन् एकातिर माओवादीहरु मलाई माओवादी कार्यकर्ता बन्न दिनहुँ दबाब दिँदै थिए भने अर्कोतर्फ म र अफिसका सहकर्मीहरुमाथि सेना र प्रकोहरी निगरानी बढिरहेको थियो । माओवादीको साथमा बसेको अवस्थामा सुरक्षाकर्मीले फेला पारे मेरो पनि सफाया हुने निश्चित थियो । मन आतङ्कित थियो । दिनहरु बित्दै गए । म आफूलाई असुरक्षित महसुस गर्न थालेँ । कहिले माओवादी त कहिले सेना पुलिसका मान्छे भेट भइरहन्थे । एक दिन एकजना माओवादी कार्यकर्ता मेरो कार्यालयमै आएर अघिल्लो दिन हुने माओवादीको गोप्य सभामा सहभागी हुन जारी गरिएको उर्दी हातमा थमाएर गयो । चिठी सर्सर्ती पढेँ- अनिवार्य उपस्थित हुनु भनिएको थियो । पत्र खल्तीमा राख्ने हिम्मत आएन, टोकरीमा फाल्न पनि डर लाग्यो । म जस्तो प्रजातन्त्र र स्वतन्त्रताको पक्षधर मानिस कसरी माओवादी जनवादी अभ्यास स्वीकार गर्न सकूँला र भन्ने पनि सोचेँ । अर्कोतिर, माओवादी आग्रह र उर्दी लत्याउन सक्ने नैतिक बल पनि जुटाउन सकिनँ । मेरै जस्तो हालत रैछ अफिसका साथीहरुको पनि। कार्यक्रममा जाऊँ त बिनसित्ति माओवादीको बिल्ला भिरिने र सेना-प्रहरीको आक्रमणको सिकार पनि बन्न सकिने डर । नजाऊँ भने माओवादीको उर्दी नमानेर उनीहरुको नजरमा विरोधी बनिने डर । खेदिएर भिरमा पुर्‍याइएको मृगको हालत भएको थियो मेरो । एकातिर भिर र अर्कोतिर विशाल नदी । भिरमा ज्यान फालूँ कि नदीमा हाम फालूँ ? दुई साताको लागि वीरेन्द्रनगर आएको म करिब चार सातादेखि यतै थिएँ । अफिसको काम सकिनु त कता हो कता, हरेक दिन नयाँ-नयाँ उल्झनमा फस्दै थिएँ । एक दिन पनि एक युग जस्तै लाग्दै थियो । यस अवधिमा घर-परिवारको याद खूब आइरह्यो । सबैभन्दा बढी त उही चिया पसलको याद आयो अनि मायाको । वीरेन्द्रनगरका कुनै पनि चिया पसलले मलाई मायाको झल्को मेटाउन सकेनन् । यहाँका कुनै पनि पसलका चिया मलाई स्वादिला लागेनन् । साँच्चै भन्दा यो सहरले मलाई आफ्नो बनाउन सकेन, मैले यो सहरलाई आफ्नो बनाउन सकिनँ । यहाँ मैले कोही आफ्ना भेटिनँ । सहरको भिडमा म हराइरहेको थिएँ । “कुनै दिन सर पनि चोरिनुभएको समाचार आउन बेर छैन ।”- मायाले भनेका यी कुरा झट्ट याद आयो । म चोरिएको त थिइनँ तर हराइरहेको थिएँ यहाँ । साँच्ची कुनै दिन म यस सहरबाट साँच्चि नै हराएँ भने ! म गिरफ्तारीमा परेको र छुटेको थाहा पाएदेखि नै मेरो परिवारबाट यहाँ नबस्न तीव्र दबाब आइरहेको थियो । र, मलाई पनि अब यहाँ बसिरहन असुरक्षित महसुस हुँदै थियो । आज रातभरमै मैले एउटा साहसिक निर्णय लिनुपर्ने भयो । बिहान सबेरै निद्रा खुल्यो । किन-किन आज तनाव हटेर ज्यान चङ्गा भएको महसुस भइरहेको थियो । खाना खाइवरी समयमै अफिस पुगेँ । कम्प्युटर खोलेर केही कुरा टाइप गरेँ । एक प्रति प्रिन्ट गरेँ र सरासर कार्यालय प्रमुखको कक्षमा गएर उनलाई बुझाएँ । पत्र पढिसकेपछि उनले अचम्मित हुँदै प्रश्न गरे- “अर्जुन सर, तपाईंबाट राजीनामा ! तर के कारणले ?” “कारण प्रष्टै छ सर । यस्तो अशान्त वातावरण र चौतर्फी निगरानीको बीचमा म कसरी काम गर्न सक्छु र ?” उनी केही बोलेनन् । एकैछिनमा म अफिसबाट बाहिरिइसकेको थिएँ । सरासर म उही चौतारी पछाडिको सानो चमेनागृहमा पुगेँ, जहाँ बितेका केही दिनयता मैले कमरेड उमंगसँग भेट्ने गरेको थिएँ । जनयुद्धमा लागेको करिब डेढ वर्षपछि पहिलो पटक घर गएको थिएँ । मायालाई भेट्न उनको चिया पसल भएको ठाउँ पुगेँ । तर त्यहाँ न त माया थिई, न त उसको चिया पसल उनले करिब केही पर रहेको माओवादी पार्टीको आमसभा स्थलमा पुर्‍याए । सभामा मसँगै थुप्रैले माओवादी पार्टीको पूर्णकालीन सदस्यता लिए । सेना प्रहरीको निगरानीमा रहनु र माओवादी धम्की खेपेर अधमरो जिन्दगी जिउनुभन्दा माओवादी भएरै हिँड्नु उचित लाग्यो । पार्टी प्रवेश लगत्तै अर्घाखाँची र सल्यानका घना जंगलमा सैनिक तालिममा सहभागी भएँ । माओवादी पार्टीमा लागेर हिँडेको खबर घरमा पठाइसकेको थिएँ । सुरुका दिनमा घरको यादले निकै सतायो । मनको क्यानभासमा मायाको तस्बिर उस्तै गरी आइरह्यो । केही दिन । केही हप्ता । तर, विस्तारै फौजी खटन र पार्टीको स्कुलिङले यति व्यस्त बनायो, त्यहाँ आफू, आफ्नो पार्टी र जनयुद्ध बाहेक केही सोच्न सकिनँ । जनयुद्धमा लागेर भूमिगत भएर हिँडेको चार-पाँच सालमा एक-दुई पटक घर गए । त्यो पनि पार्टीको कामविशेषले जाने क्रममा एकछिनका लागि पसियो । जनयुद्धमा लागेको करिब डेढ वर्षपछि पहिलो पटक घर गएको थिएँ । मायालाई भेट्न उनको चिया पसल भएको ठाउँ पुगेँ । तर त्यहाँ न त माया थिई, न त उसको चिया पसल । मन खिन्न भयो । ‘छिटै आउनुस् है सर’ भनेकी थिई हिँड्ने बेलामा । दुई साताको लागि हिँडेको म डेढ वर्षपछि फर्केको थिएँ । उसको पसल भएको ठाउँमा ठूलो भवन बनेको थियो र त्यहाँ अहिले हार्डवेयर पसल थियो । कसैले पनि मलाई माया कहाँ गई भनेर बताउन सकेनन् । त्यसपछिका करिब चार वर्ष म जनयुद्ध र फौजी कारबाहीमै व्यस्त भएँ । विस्तारै मायाका यादहरु जीवनबाट ओझेल पर्दै गए । माओवादी पार्टीमा रहँदा दाङ, सल्यान, अर्घाखाँची र पाल्पा आक्रमणमा सहभागी भएँ । पाल्पा सदरमुकाम तानसेनमा पार्टीले केही व्यक्तिको सफाया गरेपछि भने म पार्टीको सैन्य मोर्चा त्यागी राजनीतिक मोर्चामा सहभागी हुन थालेँ । तानसेनको घटनासँग मेरो केही असहमति रह्यो । आफ्नै आँखा अगाडि निर्दोष मानिसलाई समातेर मारिएपछि मलाई पार्टीको फौजी लाइन र सफाया प्रवृत्तिप्रति वितृष्णा भयो । पछि पार्टी शान्ति प्रक्रियामा आयो । पार्टी लाइन बदलेर नेकपा माओवादी खुला राजनीतिमा प्रवेश गर्‍यो । लगत्तै पार्टी संसदमा प्रवेश गरी सरकारमा पुग्यो । जनजीविका र वर्ग संघर्षको मुद्दालाई पाखा लगाएर अवसरवादी पथबाट पार्टी गुज्रिन थालेपछि मैले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिई स्वतन्त्र जीवनयापन गर्ने निर्णय गरेँ । पार्टी जिम्मेवारी छाडे लगत्तै काठमाडौँबाट घर जान बस चढेँ । तनहुँ खैरेनीटार आइपुगेपछि एक जना विधवा महिला सानो बच्चासहित बसमा चढिन् । महिला कहीँ कतै चिने-जानेको जस्तै लाग्यो । तर यही हो भनेर ठम्याउन सकिनँ । एकैछिनमा ती महिला मेरै छेवैको सिटमा बस्न आइपुगिन् । जब ती महिला मेरो आडैमा बसिन्, मेरो होसले ठाउँ छोड्यो । मैले उनलाई राम्ररी चिनेँ तर उनले मलाई चिनिनन् । म पहिला दुब्लो थिएँ, अहिले मोटाएको थिएँ । त्यसमा पनि दाह्री पालेर चश्मा लगाएको थिएँ । उनलाई चिनेपछि म स्तब्ध भएँ । पहिला छरितो जीउडाल र कालो वर्ण भए पनि हिस्सी परेकी युवती अहिले निकै गलेर फुङ्ग उडेकी । चार-पाँच वर्षे बच्चाको साथमा सिटमा बसेकी महिला मेरी साहुनी उनै माया थिइन् । यी तिनै माया थिइन्, जसको हातको चिया नखाएसम्म म अफिसबाट घरको बाटो देख्दैन थिएँ । यी तिनै माया थिइन्, रुप, बोली र व्यवहारबाट प्रभावित भएर म एकोहोरो प्रेममा परेको थिएँ । यी तिनै माया थिइन्, जसको सम्झनाले भक्कानिएर सुरुका दिनमा कैयौं पटक म माओवादी जनयुद्धबाट भागेर घर जानेसम्म सोच्थेँ । उनको दुःखसँग एकाकार हुन मन लाग्यो मलाई । हुन पनि कुनै समय आफूले मन पराएको मान्छे जिन्दगीको खेलमा पछारिएको देख्दा म कसरी निरपेक्ष रहन सक्थेँ र ? उनले मलाई चिनेको भए अतीतका घाउ कोट्टिने थियो । मैले उनको बारेमा सोध्ने थिएँ, उनले मेरो बारेमा । सायद मनमनै मलाई धोकेवाज भन्ने थिइन् । किनकि मैले बुझेको थिएँ, भावना कहिल्यै व्यक्त नगरे पनि उनी पनि मलाई प्रेम गर्थिन् । नचिनेर ठीकै गरिन् जस्तो लाग्यो । बस अगाडि बढ्दै गयो । म अपरिचित पात्रकै रुपमा उनीसँग गफिन सुरु गरेँ । मलाई उनी र उनको जीवनमा बितेका पाँच/छ वर्षमा के-के भए जान्न मन भयो । उनले पनि मनमा गाँठो परेर बसेको आफ्नो दुःखको पोयो फुकाउन थालिन् । उनका प्रत्येक आवाजमा दुःख र असन्तुष्टि मात्रै भेटेँ । कति चाँडै विवाहित र विधवा पनि भइछन् कठै ! कति चाँडै समयले कोल्टो फेर्दो रैछ ! उनको जीवनको रुखका हरिया पातहरु कति चाँडै ओइलाएछन् ? मनमा अनेक प्रश्नहरुले दोहोरी खेल्न थाले । उनको दुःखसँग एकाकार हुन मन लाग्यो मलाई । हुन पनि कुनै समय आफूले मन पराएको मान्छे जिन्दगीको खेलमा पछारिएको देख्दा म कसरी निरपेक्ष रहन सक्थेँ र ? उनले आफ्नो बिहे भएदेखि आजसम्मका सबै कुरा बताउँदै गइन् । जब उनले माओवादीले आफ्नो पतिको हत्या गरेको घटनाबारे बताइन्, मैले आफू बसेको ठाउँ हजारौं फिट भासिएको महसुस गरेँ । आज आएर थाहा भयो- उनका पति तिनै अभागी व्यक्ति थिए जसको हत्या मेरो पार्टीले मेरै आँखा अगाडि गरेको थियो । पाल्पामा शिक्षक सेवामा रहेका उनका पतिलाई सुराकी गरेको आरोपमा सफाया गरेको थियो । उनी निर्दोष थिए भन्ने मलाई थाहा थियो । उनी पहिलोपटक पक्राउ पर्दा मैले नै उनलाई भगाएको थिएँ । तर, दोस्रो पटकमा बचाउन सकिनँ । एउटा निर्दोषले त्यसरी अनाहकमा ज्यान गुमाउनु परेको तानसेन घटनाको साक्षी बनेपछि नै मैले माओवादी सैन्य विभागको जिम्मेवारीबाट राजीनामा दिएको थिएँ । माया जति-जति आफ्ना कहानी सुनाउँदै जान्थिन्, म उति पग्लँदै गएको थिएँ । कुनै समय म यिनैसँग प्रणय जीवनको कल्पना गरेर रोमाञ्चित हुने गर्थेँ । म उनको निकटता चाहन्थेँ, उनी डराउँदै आफ्नो परिचय लुकाउँथिन् । तर आज म उनीसँग भागेर आफ्नो परिचय लुकाउँदै छु । म कसरी भनूँ म उही अर्जुन सर हुँ, जो आफ्नो मन परेको मान्छेलाई विधवा भेषमा देख्दा पनि रुन सकेको छैन । म कसरी भनूँ म उही अर्जुन सर हुँ, जो हिजो परिचय खोज्दै दिनहुँ चिया पसल धाउने गर्थ्यो आज उसैको सामुन्ने आफ्नो परिचय लुकाउन खोज्दै छ । मलाई उनीसँग होइन, आफैसँग डर लाग्यो । आफैं हराए झैं लाग्यो भिडमा । उनले मेरो परिचय जान्न पनि खोजिनन् । बोल्दै जाँदा उनका परेलीमा आँसु छचल्किरहेका थिए । त्यो आँसुमा मैले उनको विगत देखेँ, वर्तमान देखेँ अनि धमिलो भविष्य देखेँ । उनले माओवादीलाई आफ्नो निर्दोष पतिको हत्यारा भनिरहँदा मैले आफ्नो निधारमा पनि त्यो रगतको छिटा लागेको महसुस गरेँ । निधार छामें- चिटचिट पसिना आएको रहेछ । सिकारीको जालमा परेको मृग झैं म भित्रभित्रै मरिरहेको थिएँ । कतै उनले मलाई मेरो बारेमा मलाई सोधिन् भने ? या चिनिन् भने ? म उनको नजरमा हत्यारा हुनेछु या धोकेवाज ? उनले मेरो बारेमा सोधिन् भने म आफ्नो परिचय के भनेर दिऊँ ? आईएनजीओको पूर्व कर्मचारी अर्जुन सर या पूर्व माओवादी लडाकु, उनको पूर्वप्रेमी या उनको सपनाहरूको हत्यारा ? वास्तवमा म आफैं परिचयविहीन भइसकेको थिएँ । उनको अनुहार हेर्नै सकिनँ । बस दमौली आइपुग्यो । २०७३ असार २५ गते ११:४४ मा प्रकाशि

Monday, July 4, 2016

निर्णय

लघुकथा -अजित क्षेत्री
कुनै समय तीर्थ यात्रामा निस्केको हाँसको जोडी हिंड्दा हिंड्दै कुनै निर्जन, सुनसान र अत्यन्तै उजाड मरुभुमीमा पुग्दा रात परेछ र एउटा सानो रुख मुन्तिर हाँसको जोडीले रात कटाउने निर्णय गरेछन् । रातमा एउटा लाटोकोसेरो (उल्लु) आएर त्यै रुखमा बसेर रातभर चिच्याएर हाँसको जोडीलाई निदाउनै दिएन । पोथी हाँस (पत्नी) दुखी भएको देखेर भाले हाँस (पति) ले सम्झाउँदै आफ्नी पत्नीलाई भनेछ:-आजको रात जसोतसो बिताऔं, बिहान सबेरै यो ठाउँ छोडौंला । यो ठाउँ यतिबिधी उजाड, उराठ र निर्जन हुनाको कारण त यै लाटोकोसेरो रैछ, यस्तो दुष्ट पंक्षी बसेर चिच्याउने स्थानमा को आएर बसोस् र हरियाली समाज बसोस् त ? लाटोकोसेरोले यो कुराकानी सुन्यो । बिहान उसले आफ्नो खराब आदतका लागी माफी माग्यो । हाँसको जोडी त्यहाँबाट हिंड्नै लागेको थियो । त्यसैबेला लाटोकोसेरो जोडले चिच्याउँदै रुन थाल्यो र हाँसले आफ्नी पत्नी (पोथी हाँस) चोरेर लैजान लागेको भन्दै गुहार माग्यो । आफ्नी पत्नीमाथी लाटोकोसेरोले दाबी गरेको देखेर हाँस जिल्ल पर्यो । आसपासका गाउँबाट भद्र भलाद्मी र पञ्च आए, हाँस र लाटोकोसेरो दुबैले पोथी हाँस आ-आफ्नी पत्नी भएको दाबी गरे । भद्र भलाद्मी सहितको पञ्चायतले दुबै पक्षको कुरा सुन्यो । पञ्चायत र भलाद्मीहरुलाई लाटोकोसेरो झुठ बोलेको कुरा बुझ्न समय लागेन । तैपनि सोंचे-'यो हाँस त आफ्नी पत्नी लिएर एकछिन पछि यो ठाउँबाट जानेछ तर लाटोकोसेरो त यहि समाजमा बस्छ र हामीलाई लाटोकोसेरो चाहिन्छ ।' त्यसैले झुठ बोलेको भएपनि लाटोकोसेरोको पक्षमा समाजले निर्णय गर्छ र हाँसलाई तुरुन्त त्यो गाउँ छोड्ने निर्देशन दिन्छ । समाजले गलत फैसला गरेर आफ्नी पत्नी अर्कालाई सुम्पिनु परेसी हाँस भारी मनले रुँदै बाटो लाग्छ । उतिबेलै हाँसलाई रोक्दै लाटोकोसेरो बोल्छ:-'रोकिनुस् मित्र ।' मेरी पत्नी त खोस्यौ अब के, मलाई नि मार्न चाहन्छौ?:-हाँसले भन्यो । 'यो पोथी हाँस मेरी होइनन् तपाईँकी हुन् हिंजो पनि, आज पनि र भोली पनि'-लाटोकोसेरो बोल्यो-'तपाईंले राती भन्नु भएको थियो यो ठाउँ यस्तो लाटोकोसेरो बस्ने भएकाले उजाड, उराठ र निर्जन भएको भन्नु भो । अहँ होइन, यो ठाउँ त सधैं लाटोकोसेरोको पक्षमा गलत निर्णय सुनाउने यस्ता पाखन्डी बिद्वानहरुका कारण यति डरलाग्दो र उराठीलो भएको हो । तपाईँ आफ्नी पोथी लिएर जानुस् ।' (मल्याङ्कोट १ दार्सिङ् स्याङ्जा हाल: युएई)

Wednesday, June 1, 2016

राजपरिवारको बंश हत्याको १५ बर्ष

जेठ, काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको १५ वर्ष पूरा भएकाे छ । २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ । जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थाना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन । पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो । उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका छन् । हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्बजनिक गरेका थिए । त्यसपछि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । अनेक आशंका र अनुमान गरिए पनि घट्ना अहिले पनि रहस्यमय नै छ ।

Wednesday, May 18, 2016

चिनियाँ राष्ट्रपति अक्टोबरमा नेपाल आउने

५ जेठ, काठमाडौं । नेपाल र चीन दुबै देशले उच्चस्तरीय भ्रमण आदान-प्रदानको तयारी गरेका छन् । अन्तरराष्ट्रिय बौद्ध सम्मेलनमा लुम्बिनी आउने निम्तो पाएका चिनियाँ राष्ट्रपति सि जिनपिन् आगामी अक्टोबरमा काठमाडौं आउ सक्ने बताइएको छ ।

लुम्बिनी र काठमाडौंमा आयोजित वौद्ध सम्मेलनमा चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेतलाई नेपालले निम्तो पठाएको थियो । तर, दुबै देशका सरकार प्रमुखहरु सम्मेलनमा भाग लिन आएनन् ।
चिनियाँ राष्ट्रपति सि आगामी अक्टोबरमा दुई दिनका लागि भारतको गोवा जाँदैछन् । उनी गोवा जाने क्रममा छोटो समयका लागि काठमाडौं उत्रिन सक्ने स्रोतले बतायो । परराष्ट्र मन्त्रालय स्रोतले भन्यो- ‘चिनियाँ राष्ट्रपतिले गोवा भ्रमणका बेला नेपालको भ्रमण गर्ने गरी समय मिलाउने गृहकार्य भइरहेको छ ।’
आगामी अक्टोबर १५ र १६ मा भारतको गोवामा ब्रिक्सको आठौं शिखर सम्मलेनमा भाग लिन चिनियाँ राष्ट्रपति त्यहाँ जान लागेका हुन् । भारतले अध्यक्षता गर्ने सो शिखर सम्मेलनमा ब्रिक्समा आवद्ध ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफि्रकाका सरकार प्रमुखहरु सहभागी हुनेछन् ।
चिनियाँ नीतिअन्तरगत उच्चस्तरीय भ्रमणबारे पूर्वप्रचार गर्नु राम्रो मानिँदैन । त्यसैले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे स्रोतले खुलेर बताउन चाहेन ।  नेपालको परराष्ट्र मन्त्रालयका एक अधिकारीले एक संचारमाध्यमलाई भने-‘प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला दुबै देशबाट उच्चस्तरीय भ्रमण गर्ने समझदारी भएको थियो, त्यसै अनुसार बि्रक्सको शिखर सम्मेलनका बेला चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्नेबारे छलफल भइरहेको छ ।’

नेपाली मोडलका पोज:हेर्नेलाई लाज

पछिल्ला दिनमा नेपालमा मोडलिङ् ब्यवसायीक रुपमा निक्कै बढेपनि बिबादित र दुर्गन्धित समेत बन्दै गइरहेको छ । छिटो चर्चा कमाउन अत्यन्तै थोरै र पारदर्शी एवम् भद्दा कपडा पहिरेर फोटोसुट गर्ने युवतीहरुको लामै लिस्ट बन्छ । अंग प्रदर्शन गरेपनि कतिपयहरु चर्चामै आउँदैनन् अनि कतिपय केही चर्चामा रहने गरेपनि पानीको फोका झैं हराउने गरेका छन् । प्रस्तुत छ केही नेपाली मोडलका तस्बिर जहाँ मोडलहरु आकर्षक होइन भद्धा मात्रै देखिएका छन् । photo: various online portals

नेपाललाई चीनको अंगालोमा राखेकोमा बधाई: काँग्रेस नेता

'भारतले सम्बन्ध सुधारको मौका गुमायो'
काठमाडौं – भारतीय कांग्रेसका नेता मणिशंकर ऐयरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि व्यंग्य गर्दै नेपाललाई चीनको अंगालोमा धकेलेकोमा बधाइ दिएका छन् । मंगलबार एक लेख लेख्दै ऐयरले मोदी र विदेशमन्त्री सुस्मा स्वराजमाथि कडा टिप्पणी गरेका हुन् । भारतीय रवैयाका कारण नेपाल चीनतर्फ ढल्किएको विश्लेषण गर्दै उनले यसबाट भारतलाई ठूलो नोक्सानी हुने बताएका छन् ।
‘नरेन्द्र मोदी र सुस्मा स्वराज, जो आफूबाहेक अरुलाई ‘अराष्ट्रिय’ भन्न रुचाउँछन्, भारतको उत्तरी सीमामा रहेको सुरक्षाको बाँध भत्काउन सफल भएका छन् । त्यो बाँध सैन्यरुपमा रणनीतिक थियो,’ उनले लेखेका छन् । ऐयरले स्वतन्त्रतापछि भारतले आफ्नो उत्तरी छिमेकीको रुपमा रहेको नेपालसँग तल–माथि हुँदै भए पनि राम्रो सम्बन्धको सन्तुलन राख्न सफल भएको तर, नेपालको सार्वभौमिकताविरुद्ध मोदी–स्वराजले छाडा शक्ति प्रदर्शन गरेका कारण सो सन्तुलन स्थायीरुपमा विक्षिप्त पारेको टिप्पणी गरेका छन् ।
‘हामीले आफ्नो पूर्व सर्तहरु लागु नभएसम्म अनुचित साम्राज्यवादी तरिकाले संविधानसभाको मतदान रोक्ने प्रयास गर्यौं भने चुनावमा हारेका तराईका तत्वहरुसँग मिलेर नेपालमा नाकाबन्दी लगायौं जसले नेपाली जनता जाडोमा अत्यावश्यक वस्तुको अभावमा बाँच्नु पर्यो,’ ऐयरको तर्क छ, ‘यसले नेपाली जनता, विशेष गरेर पहाडका, मा भारतविरोधी भवना पैदा गरिदियो ।’
‘नेपालले संविधान जारी गरेर खुसियाली मनाएकोमा साथ दिएर असन्तुष्टहरुको माग पनि सम्बोधन गराउने बाचा दिनुको साटो नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेर के मोदी–स्वराजले यही चाहेका थिए ?,’ उनले प्रश्न गरेका छन्, ‘के उनीहरु हिमालय हुँदै तराईसम्म चिनियाँ राजनीतिक र आर्थिक प्रवेश चाहन्थे ?
के उनीहरु तिब्बत हुँदै काठमाडौं मात्र होइन भारतको सीमा नजिकै रहेको लुम्बिनीसम्म आउने राजमार्ग र रेलमार्गको स्वागत गर्न चाहन्छन् ? के उनीहरु नेपाले हल्दियाको निर्भरता घटाउँदै चीनको तियान्जिन बन्दरगाहमा निर्भर भएको हेर्न चाहन्छन् ? के उनीहरु नेपाल चीनको वान बेल्ट–वान रोड प्लानको हिस्सा भएको हेर्न चाहन्छन् ? के चिनियाँ राष्ट्रपति सि जिनपिङले दाबी गरेजस्तै उनीहरु नेपाललाई साँच्चै चीन र भारतबीचको ‘आर्थिक पुल’ को रुपमा हेर्छन् ?’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुनमा भारत भ्रमण गरेर सम्बन्ध सुधार गर्ने अवसर दिँदा पनि त्यसको सदुपयोग गर्न नसकेको बताएका छन् । ऐयरले भारतले नेपालको एउटा पूरै पिढीको सद्भाव गुमाएकोमा चिन्ता व्यक्त गरेका छन्

Monday, May 16, 2016

तीन मुक्तक


१.
सारा सहर घुमेर यार बदलें
छउञ्जेल उमेर प्यार बदलें
बदल्यौ ऐना र भन्यौ प्रिय
हेर त आफ्नै अनुहार बदलें ।

२.
पित्तल गालेर सुन हुनी भा
तारा चम्केर जून हुनी भा
कसले गर्थ्यो र रुनी अभिनय
आँसु बगेर खुन हुनी भा ।

३.
टुँडीखेलमा पाल टाँग्छौ कतिञ्जेल
हत्केलाले लाज ढाक्छौ कतिञ्जेल
अब पनि नगरे त सन्ततीले थुक्लान्
यसै गरी नेपाल राख्छौ कतिञ्जेल ।


-अजित क्षेत्री
मल्याङ्कोट-१ स्याङ्जा
 हाल: युएई

Friday, May 13, 2016

चीनले नेपालका लागी रेल पठायो

रेल काठमाडौँ सम्मै आईपुग्ने
काठमाडौं– सरकारले चीनसँग बृहत् ऊर्जा विकास तथा व्यापार सम्झौता तयारी गरिरहँंदा चीनसँगको अवरुद्ध व्यापार चालु भएको छ। चीनको गान्सु प्रान्तको राजधानी लान्झाउबाट बुधबार अन्तर्राष्ट्रिय मालवाहक रेल नेपालका लागि छुटेसँगै नेपाल–चीन द्विपक्षीय व्यापार अर्को चरण प्रवेश गरेको हो। 
      वैशाख १२ को महाभूकम्पपछि चीनसँगको द्विपक्षीय व्यापार लगभग शून्य थियो। भूकम्पले चीनसँगको एकमात्र व्यापारिक नाका तातोपानी अवरुद्ध भएपछि चीनले पनि रसुवाको रसुवागढीतर्फबाट व्यापार सुचारु गर्न आग्रह गरेको थियो। यसैअनुरुप चीनबाट पहिलोपटक रेल तथा स्थलमार्ग प्रयोग गरेर नेपालका लागि रसुवागढी हुँदै सामान आयात सुरु भएको चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीको आधिकारिक पत्रिका 'पिपल्स डेली' को अनलाइन संस्करणमा प्रकाशित छ।

नेबिसँघको अध्यक्षमा को आउलान् ?

काठमाडौँ ।
      नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको पछिल्लो महाधिवेशनको संघारमा छ । लामो समयदेखि हुन नसकेको महाधिवेशन हुने भएपछि संघमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ भने नेतृत्वका आकाङ्क्षी बिधार्थी नेताहरुले आफ्नो प्रचार अभियान तिब्र बनाएका छन् ।  
       १३ औं महाधिवेशनपछि बसेको कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकले ६ महिनाभित्र नेविसंघको महाधिवेशन गराउने निर्णय गरेको थियो  । भातृ संस्थाको निर्वाचन सम्पन्न गराउन काँग्रेसले नेता डा.प्रकाशशरणलाई महाधिवेशन संयोजक तोकेको छ । बिगत आठ बर्षदेखि पटक पटक स्थगित हुँदै आएको महाधिवेशन यसपटक भने हुन सक्ने आँकलन गरेका बिधार्थी नेताहरुले सामाजिक संजालहरु मार्फत आफ्नो नाममा प्रचारबाजी देख्न लायक भएको छ । 
       बिगत आठ वर्षदेखि नेतृत्वका लागि अभ्यास गर्न नपाएका नेविसंघमा अझै १ दर्जन बढीले अध्यक्षमा दावी गरिरहेका छन् । अध्यक्षमा दावी गर्नेमध्येका ७ सम्भववित प्रत्यासीहरु यस्ता छन्– 

Thursday, May 12, 2016

अब दुई विवाह नगरे जेल परिने !

वैशाख २७, २०७३- 

अफ्रिकी मुलुक एरिट्रियाले आफ्नो देशका पुरुषले अनिवार्य रूपमा कम्तीमा दुई महिलासँग विवाह गर्नै पर्ने नियम ल्याएको छ ।


इथियोपियासँगको युद्धका क्रममा धेरै पुरुषको ज्यान गएको र अहिले महिलाको भन्दा पुरुषको जनसंख्या कम भएकाले यस्तो नियम बनाइएको हो । यो नियमअनुसार हरेक पुरुषले कम्तीमा २ महिलासँग विवाह गर्नुपर्छ । बहुविवाह गर्न नमान्ने व्यक्तिलाई कठिन श्रमसहितको जन्म कैदसम्म हुनसक्छ ।

आफ्नो श्रीमान्लाई बहुविवाह गर्नबाट रोक्ने महिलालाई पनि जन्म कैदको सजाय हुनसक्छ । सन् १९९८ को मेदेखि सन् २००० को जुनसम्म इथियोपियासंगको युद्धका क्रममा एरिट्रियाका १ लाख ५० लाख सुरक्षाकर्मीको ज्यान गएको थियो । ४० लाख जति जनसंख्या रहेको एरिट्रियामा पुरुषको संख्या कम हुँदा महिलाको विवाहमा समस्या उत्पन्न भएको छ । 

दस करोड भ्रष्टाचार गर्ने एमाओवादी पूर्व साँसद्माथी मुद्दा दायर

काठमाडौं– सम्पत्ति जाँचबुचका क्रममा करिब दस करोड सम्पत्तिको स्रोत फेला नपरेपछि सो रकम भ्रष्टाचार गरी कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाओवादी सांसद ल्यारक्याल लामाविरुद्व विषेश अदालतमा मुद्दा दायर गरेको छ ।

     अख्तियार प्रवक्ता कृष्णहरि पुस्करले अकुत सम्पत्ती आर्जन गरेको अभियोगमा लामाविरुद्व आज विषेश अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए ।स्रोतका अनुसार अख्तियारले छानबिन थालेको २९ जना भिआईपी मध्येका लामालाई पहिलो व्यक्तिको रुपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चलचित्र नचल्दा नीतालाई घाटैघाटा

योगेश घिमिरे क्याम्पकी हिरोइन हुन्, नीता ढुंगाना ।
योगेशले बनाएका पछिल्ला दुई फिल्म नोटबुक रभुलभुलैयाकी मुख्य पात्र उनै थिइन् । नोटबुकको ‘गाला रातै...’ गीतले उनलाई नयाँ फेम दियो । दुवै फिल्ममा जीवन लुइटेलसँग रोमान्स गरिन् । तर दुर्भाग्य ! योगेशको नयाँ फिल्म राधामा नीता अटाइनन् । जबकि, जीवनले निरन्तरता पाएका छन् । दुई सन्तानकी आमा रहेकी हिरोइन सञ्चिता लुइँटेलले जीवनसँग स्क्रिन सेयर गर्ने पक्का भएको छ । यसरी योगेशले समेत साथ छोडेपछि नीतालाई छटपटी हुनु स्वाभाविक भइहाल्यो । आखिर, प्रतीक्षित फिल्मफूलैफूलको मौसम तिमीलाईको असफलताको घाउ चहराइरहेको बेला न पर्‍यो !

सिर्जनामा देश खोज्छु-नबराज लम्साल

नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष हुन्, नवराज लम्साल, ४६ । 

कर्ण महाकाव्यलगायत आधा दर्जन कृतिका स्रष्टा 
लम्साल सञ्चारकर्ममा समेत सक्रिय छन् ।


नेपाली लेखक संघको नेतृत्व पाउँदा कस्तो लागेको छ ?
लामो समयदेखि म लेखिरहेको छु, लेख्नेहरूकै बीचमा छु । साहित्य र साहित्यकारको स्थिति मलाई थाहा छ । पुरानो संस्थाको नयाँ अध्यक्ष हुन पाएकामा खुसी लागेको छ ।

नेपाली लेखक संघ कस्तो खालको संस्था हो ?
लोकतन्त्र, लोकतान्त्रिक लेखन, बहुलता र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा लाग्ने संस्था भनेकै नेपाली लेखक संघ हो ।

यसलाई त नेपाली कांग्रेस निकट भन्छन् नि ?
नेपाली कांग्रेसले लेखन स्वतन्त्रताको वकालत गर्छ । यस अर्थमा हामी कांग्रेस निकट छौँ । तर, हामी कांग्रेसका कुरा लेख्दैनौँ । हामीले लेखेका कुरा कांग्रेसले मन पराउन भने सक्छ ।