Friday, May 13, 2016

चीनले नेपालका लागी रेल पठायो

रेल काठमाडौँ सम्मै आईपुग्ने
काठमाडौं– सरकारले चीनसँग बृहत् ऊर्जा विकास तथा व्यापार सम्झौता तयारी गरिरहँंदा चीनसँगको अवरुद्ध व्यापार चालु भएको छ। चीनको गान्सु प्रान्तको राजधानी लान्झाउबाट बुधबार अन्तर्राष्ट्रिय मालवाहक रेल नेपालका लागि छुटेसँगै नेपाल–चीन द्विपक्षीय व्यापार अर्को चरण प्रवेश गरेको हो। 
      वैशाख १२ को महाभूकम्पपछि चीनसँगको द्विपक्षीय व्यापार लगभग शून्य थियो। भूकम्पले चीनसँगको एकमात्र व्यापारिक नाका तातोपानी अवरुद्ध भएपछि चीनले पनि रसुवाको रसुवागढीतर्फबाट व्यापार सुचारु गर्न आग्रह गरेको थियो। यसैअनुरुप चीनबाट पहिलोपटक रेल तथा स्थलमार्ग प्रयोग गरेर नेपालका लागि रसुवागढी हुँदै सामान आयात सुरु भएको चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीको आधिकारिक पत्रिका 'पिपल्स डेली' को अनलाइन संस्करणमा प्रकाशित छ।
        प्रधानमन्त्री केपी शर्मा ओलीको गत चैत ७ मा भएको चीन भ्रमण बेला चीनसँग गरेको पारवहन सम्झौताअनुरूप काठमाडौंका लागि आवश्यक सामान बोकेको मालवाहक रेल चीनबाट छुटेको 'पिपल्स डेली' ले जनाएको छ।
        समाचारअनुसार ४३ वटा डिब्बा र ८६ कार्गो कन्टेनरमा दैनिक उपभोग्य सामान र घरायसी प्रयोगका सामान बोकेर रेल नेपालका लागि छुटेको हो। उक्त ७०११ नम्बरको रेलको अग्रभागमा चिनियाँ भाषामा 'लान्झाउ–काठमाडौं' लेखिएको फोटोसहितको समाचारमा भनिएको छ, काठमाडौंसम्म रेलमार्ग नभएका कारण उक्त रेल सिगात्सेसम्म आउनेछ। सिगात्सेबाट नेपाल सीमासम्मको ५ सय ६४ किलोमिटर सडकयात्रा तय गरेर उक्त सामान केरुङसम्म पुर्याउने जनाइएको छ।
नेपाल–चीन सीमामा चीनले आफ्नोतर्फ केरुङमा द्विपक्षी व्यापारका लागि आवश्यक पूर्वाधार बनाइसकेको छ। नेपालतर्फ भने आधारभूत पूर्वाधार अवस्था अझै नाजुक छ।

केरुङबाट चिनियाँ सामान काठमाडौं आइपुग्न १ सय ६० किलोमिटर सडकयात्रा तय गनुपर्नेछ। यसरी सामान ल्याउँदा समुद्री बाटो प्रयोग गरेर ल्याउनुभन्दा ३५ दिन कम हुने उक्त समाचारमा जनाइएको छ। यसबाट नेपाल र चीनबीचको ढुवानी खर्च कम हुने अपेक्षा गरिएको छ।

No comments:

Post a Comment